दबिएको आवाज

Want create site? Find Free WordPress Themes and plugins.

साँझको करिब ६ बज्न आटेको थियो होला l म सधैँझैँ अफिसको कामले लखतरान हुदै आफ्नो डेरा तर्फ फर्कदै थिए l बाइक चढ्न पेट्रोल छैन, गाडी चढौ झुन्डिन ठाउँ पनि पाउदैन | हिडेरै काम चालाउथे र त्यो थकान मेटाउन एउटा चिया पसलमा सधैँ एक कप चिया र चुरोट खान्थे |
आज पनि त्यस्तै भयो l त्यहि चिया पसलमा छिरे र सधैँ बस्ने एउटा कुनाको टेबलमा गएर बसे l साहुनी दिदीलाई ईशारा मात्र गरे, सधैँ त्यै एक कप रातो चिया र चुरोट खाने मान्छे भनेर चिनिसक्नु भएको थियो होला | मैले ईशारा मात्र गर्दा पनि दिदीले मेरो अर्डर पाँच मिनेट भित्रमा ल्याईदिनुहुन्थ्यो | मिठो मुस्कान सहित चिया, चुरोट मेरो अगाडि टक्र्याएर जानु भयो आज पनि | मैले पनि त्यस्तै मिठो मुस्कान फर्काइदिए |

अब भने आफ्नो दुनियामा म ब्यस्त हुन थाले चुरोटको धुवाँ माथि माथि र खरानी तलतल झार्दै | यो देखेर सोचे, मेरो जिन्दगी यस्तै धुवाँ जस्तो होस्, आफ्नै भरमा माथि माथि उड्ने नकि यो खरानी जस्तो जुन मेरो औलाको बलले तल झर्छ र आफ्नो जीवन एस्थ्रेमै बिताउछ | त्यतिकै बेला आफ्नो टेबलको ठिक बिपरित दिशामा एउटी केटीलाई देखे | रातो सल गलामा बेरेको, भित्रबाट कालो र सेतो रंग मिसिएको शर्ट र त्यसमाथि कालै रंगको हुड पनि | हेर्दा राम्री देखिन्थिन उनि | तर मैले त्यति वास्ता गरिन | उनि म जस्तै बसेकी थिइन् एक्लै l टेबलमा एउटा कप थियो मेरो जस्तै रंगको, शायद चिया पिउदै थिइन्, मेरो जस्तै दिन भरिको थकान उतार्न | तर उनको अनुहार हेर्दा साह्रै दुखि देखिन्थ्यो | ओइलिएको फूल जस्तै, पहेलिएको पात जस्तै या भनौ डुब्न लागेको घाम जस्तै l साह्रै दबिएको जस्तो, केहि कुराले अत्तिनै सताए जस्तो वा केहि कुराले भित्रै बाट चाप दिए जस्तो | पहिले त सोचे सबैको जिन्दगी यस्तै हो, समस्याहरु आउछन बाधा अड्चन आउछन् दुखि बनाउछन् अनि जान्छन् पनि, त्यति निरास भएर बस्नु पर्ने पनि त होइन |

फेरी केहि छिन् आफ्नै चिया चुरोटमा व्यस्त भए |

करिब २ मिनेटपछी फेरी हेरे त्यो टेबलमा l अहिले चै उनि आफ्नो आँखा हत्केलाले पुछ्दै थिइन्, घोप्टो परेर एक्लै l घोरिएर हेर्दा पानीका थोपा उन्को आँखामा बिहानीको शीत कुनै फूलका पत्रहरुमा परेको जस्तो देखिए, टलक्क टल्कियो उनको कोमल आँखा | रुदै पो रैछिन l कोहि साथमा पनि छैन l एउटी युवती एक्लै रुदै बसेको देख्दा आफु भित्र मानव हुनुको दायित्वभाब पैदा भयो |

सहन सकिन मैले, उठेर उनको टेबलमा गए |
“तपाइँ ठिक हुनुहुन्छ ? के भयो ? सन्चो छैन ? कोहि छैन साथमा ?” नम्र भाषामा सोधे उनलाई |

“हैन, ठिकै छ” धेरै सानो स्वरमा बोलिन उनि, अघिको जस्तै हत्केलाले आँखा पुछ्दै |

कुनै अन्जान व्यक्तिलाई कसैले पनि आफ्नो व्यक्तिगत कुरा त्यसै भन्दैन, थाहा थियो मलाई तै पनि कर गरे मैले | केहि समस्या परेको भए भन्नुस भन्दै २/३ पटक सोधे l अन्तत आफ्नो कुरा भन्नलाई तयार भइन् उनि | शायद मनको कुरा बाड्ने कोहि नपाएर पनि त्यति निरास थिइन् उनि | मैले अलि बढी चासो देखाउदा उनको मन अलिक हल्का पनि भयो क्यारे, आँखामा टल्किएका बिहानीको शीत जस्ता आँशु पनि एकाएक गायब भयो र आफ्नो कुरा सुरु गरिन् |
“म आज धेरै नै चिन्तित छु, मलाई शायद जिन्दगीमा पहिलो पटक यस्तो नराम्रो लागिरहेको छ l एउटी छोरी, एउटी केटी भएर जन्मिनुमा धिक्कार लागेको शायद आज पहिलो पटक हो | केटी हुनुमा त सिकार नै भए जस्तो लाग्यो | मानबको मुखौटा लगाएर दानबको ब्यबहार गर्ने पुरुषहरुलाई देखेर घिन लागेको छ |”

उनि अलि आक्रोशित र भावुक भएरै कुरा सुरु गरिन l पुरुषहरु प्रतिको त्यस्तो प्रतिक्रिया सुन्दा एक मन रिसायो ‘किन होला त्यस्तो सोचेको जस्तो लग्यो’ र अर्को मनले उनको कुरामा समर्थन जनायो ‘ठिकै हो, कुनै पुरुषहरुको व्यवहार नै त्यस्तै हुन्छ l सार्है निच l’

उनले के कुरा भन्न खोजेकी हुन राम्रो संग बुझिन | तर कुरा लामै होला जस्तो लग्यो l मैले सहुनी दिदिलाई हातका २ ओटा औला उठाउदै दुई ओटा चिया ल्याइदिन ईशारा गरे चुपचाप |
उनि फेरी बोलिन्…..

“मैले पछिल्लो साल मात्र ब्याचलर सक्काएकी हुँ l अहिले एउटा सानोतिनो फाइनान्समा एकाउन्टेन्टको काम गर्छु l बिहान १० बजे जानुपर्छ अफिस | त्यसको लागि बिहान ७ बजे सम्म उठ्छु त्यो पनि आलाराम बजाएर ३/४ चोटी सम्म | नुहाई धुवाई गर्छु l हरेक केटीहरुले नुहाए पछि गर्ने सिंगार पटारको काम गर्छु | सकेसम्म राम्री देखाउन खोज्छु आफुलाई, शायद सबै केटीहरुको चाहना हुन्छ यस्तो, अनि खाना खाएर अफिस जान्छु |
सधैँ जस्तो चोकमा पुगेर गाडी कुर्नुपर्छ l आजकल फेरी यो तेलको अभावले गाडीपनि टाईममा पाउदैन, बस्ने सीटको त कुरै छोडौ l गाडीहरु आउछन्, सीट फूल प्याक गरेर | ढोकामा पनि मान्छेहरु सकी नसकी झुन्डिएको हुन्छन् l दुईचार ओटा गाडीहरु आए, गए, म चढीन l तर अफिस पुग्ननै ढिला हुन्छ जस्तो भयो l एउटा बस आइपुग्यो, खलासी भाईले मिठो पारामा ठाउँ छ दिदी आउनुस भन्यो, म पनि चुपचाप चढे | खलासी न पर्यो के सत्य बोल्थ्यो, उभिन मात्र ठाउँ थियो बस भित्र l उभिने मध्येमा साना केटाकेटी, युवायुवती, बुढाबुढी सबै थिए | हाम्रा नेपाली दाजुभाई फेरी यति दयालु छन् कि आफु भन्दा ठुला मानिस उभिएको पनि मतलब हुदैन, आफु सीटमा बस्नु पाए भयो | आफ्नो उमेरको केटाहरुको नजिक उभिने हिम्मत भएन | म अलिकति पछाडि गए उभिनलाई, साइडमा एउटा ५/६ बर्षले जेठो लाग्ने दाजु हुनुहुन्थ्यो |”

साहुनी दिदीले चिया ल्याईदिनु भयो | फेरी त्यस्तै मिठो मुस्कान सहित धन्यवाद दिए l मैले उनलाई चिया लिन संकेत गरे | उनले चियाको कप समात्दै फेरी कुरा क्रमसः भन्न थालिन,..

“सुरुमा त जे होस् कसैसंग टासिन पर्ने भीड थिएन | तर जसो जसो खलासीले ठाउँठाउमा गाडी रोक्दै जति झर्छन त्यसको दोब्बर गाडीमा चढाउन थाल्यो, भीड त्यसै त्यसै बढ्न थाल्यो | अब भने सबै एक आपसमा टासिन थाले l म पनि टासिन पुगे साइडमा उभिएको २/३ जनासंग | त्यस मध्येमा एक जना त्यै दाजु हुनुहुन्थ्यो | सधैँ यसरी नै आवतजावत गर्नु पर्थ्यो | त्यसैले त्यति गाह्रो महशुस गरिन मैले | तर आज कहिले नभएको कुरा भयो |”

एकछिन केहि सब्द निस्केन उनको मुखबाट l उनले आफ्नो हातमा समाएको चिया साइडमा राखिन र अलि भावुक हुदै दुवै हत्केलाले आफ्नो अनुहार छोपिन् l धेरै केहि बोल्ने सकिन म | “अनि?” मात्रै भने l

“नेपाली सडक न हो ठाउँठाउको बिग्रेको पिचले गर्दा गाडी उफ्रिने हल्लिने धेरै हुन्थ्यो | त्यस्तोमा टासिएको मान्छेहरुमा कहिले धक्का लाग्ने त कहिले ठोक्किने हुन्थ्यो | त्यस्तै भयो मसंग पनि | त्यो साइडको दाजु ठोकिन्थ्यो मसंग बारम्बार l केहि भनु भने त्यस्तो भीड छ, कस्तो अबुझ केटी भन्लान् भन्ने डर, नभनु भने धेरै नै धक्का लाग्नु थाल्यो | मलाई अलिकति अफ्ठ्यारो लाग्यो l जसो तसो आफ्नो खुट्टा सारे त्यो दाजु बाट आफुलाई अलग्याउन | तर हैन, फेरी उस्तै धक्का l अब चाहि लाग्न थाल्यो सायद जानी जानी यस्तो हुदैछ | अझै पनि उसलाई क्यै भन्ने हिम्मत भएन म मा l के गर्ने ? केहि उपाय पनि थिएन मसंग, त्यसरी नै चुपचाप उभिरहे |”

भन्दै जादा उनको स्वर अब अलिकति मधुरो हुदै गयो | अलि निरास, दु:खि सुनिदै जान थाल्यो उनको स्वर l म केहि बोल्नै परेन आफै बोल्न थालिन फेरी |

“चुपचाप उभिनै रहेको थिए, त्यो दाजु अहिले चाहि मेरो ठिक पछाडी उभिन पुगेछ | मैले वास्ता गरिन वा गर्न खोजिन म आफैलाई थाहा भएन | एक्कासी केहि महसुस भयो मेरो पछाडी पट्टि | ठ्याक्कै के हो थाहा भएन | म चुपचाप उभिरहे | यो पालि अझ टासिए जस्तो भयो कोहि मेरो पछाडि पट्टि l अझै बढी महशुस हुन थाल्यो केहि कुरा l अब भने त्यो दाजु भनाउदोको नाकबाट निस्केको तातो श्वासको झोका मेरो कान पछाडि नै महशुस भयो मलाई | मेरो पछाडिको भाग संग धेरै नै टासिएको रहेछ | मलाई असहिय भयो l”

धेरै नै भावुक भए म l चियाको कप समाउने शक्ति रहेन ममा, मैले साइडमा राखी दिए l उनि चाहि आफ्नो कोमल आँखाबाट मौलाएको पानीको थोपा पुछ्दै थिइन् | म नि:शब्द भए l केहि शब्द फुरेनन् मनमा |

“फर्किएर एक झापड लगाउन मन लाग्यो, त्यसको मुखमा थुक्न मन लग्यो | मनमा आएका सबै थरिका गाली दिन मन लग्यो l तर सकिन | लाचार थिए म | त्यो पापी भिडको कारण, तेल नभएर सिमित गाडीहरु चलेको कारण, त्यो भारतीय मोदी भनाउदोले नाकाबन्दी गरेको कारण | मलाई ओर्लनु पर्ने टाढै थियो, तर त्यस्तो महशुस हुदा बित्तिकै ओर्ले गाडीबाट | त्यसपछि बेहोसीको औषधि सेवन गरेको जस्तो गरि हिड्न थाले | कुनै अर्कै दुनियामा पुगे जस्तो लग्यो l अफिस कता हो ? र कता जादै छु, थाहा नै भएन | कति समय भयो ? कति बजे पुग्नु पर्ने हो, वास्तै भएन l मात्र हिडिरहे l बेहोसीमा l”

आफ्नो आशुँ पुछ्दै बोल्दै थिइन् उनि, मैले पनि आफ्नो आँखा रसाउन बाट रोक्न सकिन | आफ्नो आसु लुकाउन घोप्टो परे, यताउता हेरे l

“जसो तसो अफिस पुगेछु | चुपचाप आफ्नो ठाउँमा गए, काम गर्नु थाले | मुड अफ देखेर सबैले के भयो, सन्चो छ कि छैन भनेर सोधे l तर के के बाहाना बनाउदै टारे सबैलाई | आफुलाई ध्यान नै छैन l दिनभरि अफिसमा यहि कुरा मनमा खेल्यो | किन केटी भएर जन्मेछु यो धर्तीमा? आफु निर्दोष हुदा हुदै पनि केहि बोल्न नपाउने म, केहि गर्न नपाउने म, किन? आफ्नो आत्मरक्षाको लागि केहि बोल्न पनि सकिन म | ठोस सबुट पनि त थिएन मसंग त्यसको प्रतिकार गर्न | फेरी आफ्नै इज्जतको सवाल थियो | कुरा निकाल्दा आफु नै नराम्रो हुने अवस्था थियो | यो कुरा मन भित्र नै ‘लुकेको कथा’ बन्न पुग्यो र मेरो पक्षमा उब्जेका शब्दहरु मन भित्रै कुण्ठित शव्द भनेर बसे | मेरो आवाज मन भित्रै ‘दबिएको आवाज’ बनेर बस्यो | गुम्सिएको आवाज बन्यो | निस्कने कुनै बाटो पाएनन् l”

म कमजोर भए | केहि बोल्नै सकिन | चुपचाप सुन्दै दिदीलाई बोलाएर सबै बिल तिरे l उनि चाहि आफ्नो सलले मुख छोपेर बसेकी थिइन् | त्यहि रातो सल |
उनलाई सहानुभूति दिनु बाहेक केहि थिएन मसंग l मात्र भने ‘अब देखि अलि सजग रहनु, ख्याल राख्नु आफ्नो | जोगाएर राख्नु यो पापी संसारबाट l’

शायद मेरो दुई पैसाको सहानुभूतिलाई मतलब दिईनन् उनलेl
र फेरी रुदै भन्दै थिईन,..

“एउटा केटी हुनुको सिकार भए जस्तो लग्यो मलाई आज,….”

Did you find apk for android? You can find new Free Android Games and apps.
poongopal

Network Engineer | Blogger | Travel & Photography Enthusiast

No Comments Yet

Leave a Reply

Your email address will not be published.